सम्झनामा सरस्वती राई

२०१५ सालको आमनिर्वाचनमा सुदुर पश्चिम डडेलधुराबाट मात्र एक जना महिला उम्मेदवार द्वारिकादेवी ठकुरानी विजयी भएका ताका पूर्वी नेपालबाट सरस्वती राईले आँफूलाई नोमिनेसन गरेकी थिइन् । सरस्वतीलाई चुनाब जित्ने पक्का विस्वास थियो तर तिनताका वी पी कोईराला र सुवर्ण शमसेरले उनलाई मनोनयन फिर्ता लिन ढिपी गरे र चुनाबमा उठ्न दिएनन् । सरस्वतीको मनमा गहिरो ठेस लाग्यो तैपनि आफू चुनाबमा नउठे पनि उनले काँग्रेस पार्टीलाई चुनाबमा सघाइन ।तर चुनाब सकेपछि पार्टीले राईका कुराहरु सुन्न चाहेन त्यसको झोंकमा उनले पार्टी परित्याग गरिन् ।

२०१७ मा नेपालमा पञ्चायती व्यवस्थाको सुरुवात भयो ।पञ्चायती व्यवस्थामा वर्गीय संगठनहरुको गठन गर्ने लक्ष्य थियो । राई सोही अनुसार २०१८ सालमा इलाम जिल्लाको महिला संगठनको चुनाबमा जिल्ला सभापतिमा बिजयी भइन् र महिला हकहित र अधिकारका लागि लड्न थालिन् ।

उसो त सरस्वती राई इलाममै बसोबास रहदा ʻछोरीले पनि पढ्न पाउनुपर्छ र इलाममा एउटा कन्या स्कूल खोलिनुपर्छ’ भनेर निरन्तर प्रयास थालेकी थिइन् । २००७ सालमा राणाशासनको अन्त्य भएर पहिलो पटक गठन भएको मन्त्रीपरिषद्का गृहमन्त्री विश्वेशरप्रसाद कोइराला इलाम भम्रणमा आउदा राईले स्थानीय महिलाहरु भेला गरी ʻछोरीले पनि पढ्न पाउनुपर्छ छुट्टै कन्या स्कूल हुनुपर्छʼ भनेर नारा लाउदै जुलुसमा सहभागी भएकी थिइन् । सोही माग राखेर करिब ३ सय महिलाहरुको सहीछाप गरी निवेदन मन्त्रालयमा पठाएको डेढ महिनापछि इलाममा छोरीहरुको लागि कन्या स्कूल खोल्ने स्वीकृति प्राप्त भएको थियो । राईकै पहलमा इलाममा छोरीहरुका लागि कन्या स्कूल खोलिएको थियो ।

राईले महिला संघमा सक्रिय हुदाँ महिलाहरुलाई साक्षर बनाउन नेपालभरि साक्षरता अभियान लागू गराएकी थिइन् । त्यसपछि पञ्चायती व्यवस्थामै महिला हक अधिकारका कुरा गर्दै राजनीति सक्रिय हुदैँ राईलाई
अघि बढ्न पनि सहज भयो ।

२०१७ साल पछि विस्तारै पञ्चायती व्यवस्थामा लागेर नेपाल महिला सङ्गठन, राष्ट्रिय पञ्चायत सदस्य, राजसभा सदस्य, गाउँर्फक राष्ट्रिय अभियान र सहायकमन्त्रीसम्मको पदमा पुग्न उनी सफल भइन्। २०३४ सालमा गठन भएको सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् अन्तर्गत नारी सेवा समितिको सभापति पदमा उनले काम गरिन्। त्यसक्रममा उनले नेपालका महाकालीसेतीभेरीकर्णाली अञ्चलका विकट स्थानहरूको समेत भ्रमण गरेर साक्षरता अभियान सञ्चालन गरेकी थिइन् ।

शिक्षा, महिला अधिकारको रक्षा तथा सामाजिक भेदभाव बिरुद्धमा लड्दा उनले धेरैबाट सम्मान पाएकी छिन्। त्यसैले त उनी मेजर्नी गुरुआमा‘, ‘मेचीकी दिदी‘, ‘सरस्वती दिदी‘, ‘सरस्वती गुरुआमा‘, ‘इलाममा महिला जागरणकी अग्रजआदि नामबाट परिचित छिन।

पञ्चायती व्यवस्थाको अन्त्यपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा सकृय भएकी राईले पछि त्यो पार्टी पनि छाडिन्। बुढेसकालको कठिन अवस्था गुजारि रहदारहदै झण्डै २ महिना अघि उनको मृत्यु भएको हो । 

शब्द : निशा राई

Copyright: Saraswati Rai Collection/Nepal Picture Library
« 2 of 4 »